कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै विश्वभर आइतबार ४ हजारभन्दा धेरै उडान रद्द
अमेरिका, १९ पुस – कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै विश्वभर आइतबार ४ हजारभन्दा धेरै उडान रद्द भएका छन्। जसमध्ये आधाभन्दा धेरै उडान अमेरिकासँग सम्बन्धित छन्। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार खराब मौसम पनि उडान रद्द हुनुको एक कारण हो।
विशेषगरी कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण विश्वभर फैलिएकाले विश्वव्यापी हवाई यात्रामा यसको असर देखिएको हो। फ्लाइट अवेयर डटकमका अनुसार आइतबार रद्द भएका २४ सय उडान अमेरिकाबाट बाहिर जाने वा आन्तरिक उडान उडानहरु थिए। त्यस्तै आइतबार करिब ६४ सय उडान सारिएको छ।
क्रिसमस तथा नयाँ वर्षको अवसरमा सामान्यतया विश्वभर सबैभन्दा धेरै हवाई यात्रा हुने गरेको छ। यद्यपि यस वर्ष भने ओमिक्रोन भेरियन्टसहितको संक्रमणको कारण एयरलाइन्स कम्पनीहरुले आफ्नो उडान रद्द गरिरहेका छन्। ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै शनिबार मात्र अमेरिकामा ३ लाख ४६ हजार नयाँ संक्रमित थपिएका छन्।

