निर्वाचन आयोगले एमाले र जसपार्टीका जनप्रतिनिधिहरूलाई दल रोजिसक्ने समय २२ भदौसम्मको समयसीमा निर्धारण
काठमाडौं, १३ भदौ – निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूलाई दल रोजिसक्ने समय २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ।
आयोगले आइतबार विज्ञप्ति निकाल्दै नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेहरुलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो।
नवगठित एकीकृत समाजवादी र लोसपामा जान चाहने प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलाई राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार समय निर्धारण गरेको आयोगले जनाएको छ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेर थ्रेस होल्ड २० प्रतिशतमा झारेपछि एमाले नेता माधवकुमार नेपालले नयाँ दल बनाइसकेका छन्।
उता जसपामा आधिकारिकता विवादपछि उपेन्द्र यादवलाई आयोगले वैधानिकता दिएको अवस्थामा दलविहीन बनेका महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी बनाएका छन्।
उक्त अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत संख्या भएमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको थियो।
अध्यादेशमा कुनै दल विभाजित भएमा विभाजनअघिको दलबाट प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले कुन दल रोज्ने भन्ने टुंगो २१ दिनभित्र लगाउनुपर्ने व्यवस्था गरिएको छ। त्यही व्यवस्था अनुसार आयोगले विज्ञप्ति निकालेको हो।
अब दल रोज्न प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले २१ दिनभित्र प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा गई सनाखत गर्नुपर्ने हुन्छ।

