काठमाडौँ उपत्यकामा ८६७ जना सहित देशभर थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ३ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८६७ जना सहित देशभर थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ११ हजार ९४७ आरटी पीसीआर तथा ४ हजार ४९२ एन्टीजेन परिक्षण सहित १६ हजार ४३८ जनाको परिक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख २० हजार ६०५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४० हजार ५०० रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार १२६ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ९१ हजार २९९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ४२८ रहेको छ ।

