शरद् ऋतुमा ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति, २८ करोडभन्दा बढी रोयल्टी सङ्कलन
काठमाडौँ । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ४१ हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार आरोहण अनुमति लिनेमा ८३३ पुरुष र २६५ महिला छन्। उनीहरूबाट विभागले २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।
यस शरद् ऋतुमा सबैभन्दा बढी आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन्। आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका हुन्। तीमध्ये ३७३ पुरुष र १२७ महिला छन्। मनास्लु आरोहण अनुमतिबाट मात्रै विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।
यस्तै, धौलागिरि प्रथम आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन्। उनीहरूबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। मकालु आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् भने उनीहरूबाट छ लाख ८८ हजार ५० रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ।
हिम्लुङ हिमाल आरोहणका लागि नौ टोलीका ९४ जनाले अनुमति लिएका छन्। यसबाट ५७ लाख ८८ हजार ९६० रुपैयाँ रोयल्टी सङ्कलन भएको छ। त्यस्तै, आमादब्लम हिमाल आरोहणका लागि १६ टोलीका १७८ जनाले अनुमति लिएका छन्। उनीहरूबाट दुई करोड ७३ लाख १५ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ।
विभागका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम, थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण चौथो, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक, पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमाल आरोहणका लागि पनि अनुमति जारी गरिएको छ। देशगत रूपमा सबैभन्दा धेरै चीनका १३२ जनाले आरोहण अनुमति लिएका छन्।
यस्तै, अमेरिकाका ९४, फ्रान्सका ९३, रुसका ९६, बेलायतका ७४, पोल्यान्डका २९, नेपालका २६, स्विट्जरल्यान्डका २८, स्पेनका २१, भारतका २२, इटालीका २८ र जापानका २८ जना आरोहीले अनुमति लिएका छन्। विभागले आरोहण अनुमतिबापत १८ लाख ५४ हजार ९५९ अमेरिकी डलर अर्थात् २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी सङ्कलन गरेको जनाएको छ।

