कञ्चनपुरमा किशोरलाई जंगलमा लगेर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ
काठमाडौँ । कञ्चनपुरमा १६ वर्षीय किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट तथा यातना दिएको आरोपमा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ रतनपुरका २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार उनीहरूले असोज २३ गते साँझ स्थानीय खजुवा जंगलमा किशोरलाई पुर्याएर खुकुरी देखाउँदै धाकधम्की दिनुका साथै कुटपिट गरेका थिए। किशोरलाई अपहरण गरी जंगलमा लगेर कुटपिट तथा यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँचै जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

