दसैँ मनाउन २४ घण्टामा काठमाडौँ उपत्यकाबाट ५६ हजारभन्दा बढी यात्रु बाहिरिए

काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू दसैँ मनाउन गाउँ फर्किन थालेका हुन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाकाबाट ५६ हजार आठ सय नौ जना यात्रु बाहिरिएका छन्।

सबैभन्दा बढी नागढुङ्गा नाकाबाट २७ हजार छ सय ४९ र भक्तपुर नाकाबाट २० हजार छ सय १५ जना बाहिरिएका छन्। यस्तै, फर्पिङ नाकाबाट पाँच हजार पाँच सय १०, भट्टेडाँडा नाकाबाट आठ सय ८६, तीनपिप्लेबाट नौ सय ७२, साँखुबाट छ सय आठ, भीमढुङ्गाबाट पाँच सय १३ र थानकोट नाकाबाट ५६ जना बाहिरिएका छन्।

दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनमा चुनौती थपिएको व्यवसायीले बताएका छन्। विभिन्न राष्ट्रिय राजमार्गमा बाढीपहिरोका कारण सडक बिग्रिएको र आवागमन प्रभावित भएकाले सवारीसाधन समयमै गन्तव्यमा पुग्न तथा काठमाडौँ फर्किन समस्या भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बताउनुभयो।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएको उहाँले जानकारी दिनुभयो। महासङ्घले यात्रुलाई टिकट काटेर मात्रै यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।

Facebook Comments Box