बाढीपहिरोले पाँच जिल्लाका राजमार्ग प्रभावित, गोरखामा सडक पूर्ण अवरुद्ध
काठमाडौँ । बाढी र पहिरोका कारण देशका पाँच जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै गण्डकी प्रदेशको गोरखामा सडक पूर्ण रूपमा अवरुद्ध रहेको र अन्य चार जिल्लामा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको जनाएको छ।
प्रहरीका अनुसार असोज २५ गते बिहान आएको बाढीले गोरखाको आरुघाट गाउँपालिकाका वडा नम्बर २, ३ र ९ अन्तर्गत नयाँपुल क्षेत्रमा क्षति पुर्याएको छ। बाढीका कारण सोतीस्थित फलामे पुल र आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि प्रभावित बेनी–जोमसोम सडकखण्ड अहिले एकतर्फी रूपमा सञ्चालनमा छ।
नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोका कारण प्रभावित कालीगण्डकी करिडोर पनि एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। तर, उक्त सडकमा ठूला सवारीसाधन चल्न नसक्ने प्रहरीले जनाएको छ। मनाङमा बाढीले क्षति पुर्याएको बेँसीसहर–खाङ्सार सडकखण्ड र धादिङको धुनिबेँसी नगरपालिका–९ खत्रीपौवामा पहिरोका कारण प्रभावित त्रिभुवन राजपथ पनि अहिले एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा प्रभावित सडकखण्डमा सावधानी अपनाउन आग्रह गरेको छ।

