रेडक्रस सोसाइटीले भोटेकोसी बाढी प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख नगद सहायता उपलब्ध गराउने

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराउने भएको छ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा यस्तो घोषणा गरेका हुन्।

नगद सहायता महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरिरहेको ‘समुन्नति कार्यक्रम’मार्फत उपलब्ध गराइनेछ। यससम्बन्धी सम्झौतामा मन्त्रालय र नेपाल रेडक्रसबीच हस्ताक्षरसमेत भएको छ। सम्झौताअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त तथ्याङ्क र आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरिनेछ। प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब ६ हजार परिवार प्रभावित भएका छन्।

पहिचान भएका लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिने नेपाल रेडक्रसले जनाएको छ। प्रभावित परिवारले उक्त रकम खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनका आवश्यकतामा खर्च गर्न सक्नेछन्। नगद सहायता वितरणमा महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, विशेष हेरचाह आवश्यक पर्ने बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यकसहित विशेष जोखिममा रहेका परिवारलाई प्राथमिकता दिइनेछ।

मन्त्रालयले नीतिगत निर्देशन, अनुगमन र समन्वय गर्ने तथा स्थानीय तहले लाभग्राही पहिचान र प्रमाणीकरणमा सहयोग गर्नेछन्। नेपाल रेडक्रसले नगद तथा भौचर वितरण, समुदायसँग समन्वय, अनुगमन र जवाफदेहिताका काम गर्नेछ। यसैबीच, नेपाल रेडक्रसले भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा मानवीय सहायता निरन्तर जारी राखेको जनाएको छ।

बहुउद्देश्यीय नगद सहायता, आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, संरक्षण र समावेशीकरणलगायतका क्षेत्रमा सहयोग भइरहेको छ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले पनि बाढी प्रभावित क्षेत्रमा प्रतिकार्य तथा खोज तथा उद्धारसम्बन्धी काममा सहयोग गरिरहेका छन्।

Facebook Comments Box