दसैँअघि नै मालढुङ्गा पुल सञ्चालनमा ल्याउने तयारी

बागलुङ । कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मतको काम तीव्र पारिएको छ। सडक डिभिजन कार्यालय पोखराका अनुसार पुलको मर्मतका लागि चौबीसै घण्टा काम भइरहेको छ। पुलको पहुँचमार्गको करिब ३० मिटर सडकमा क्षति पुगेपछि बागलुङ र पर्वतबीचको नियमित आवागमन प्रभावित भएको थियो।

हाल मालढुङ्गा–बेनी हुँदै बागलुङ तथा पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुङ पुग्ने वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन भइरहेका छन्। सडक डिभिजन कार्यालयले दसैँअघि नै पुल सञ्चालनमा आउने जनाएको छ। पुल सञ्चालनमा आएपछि बागलुङसँगै रुकुमपश्चिमलगायत जिल्लातर्फको यात्रा सहज हुने अपेक्षा गरिएको छ।

मालढुङ्गा पुल कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसँग जोडिने महत्वपूर्ण मार्ग भएकाले यसको शीघ्र मर्मत आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीका अनुसार पुल मर्मतमा जियोब्याग र जियोग्रिड प्रविधि प्रयोग भइरहेको छ।

चाडपर्व नजिकिँदै जाँदा बागलुङमा खाद्यान्न, ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहोस् भनेर मर्मतलाई प्राथमिकता दिइएको छ। यसैबीच, वैकल्पिक मार्गबाट ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति भइरहेको पर्यटन व्यवसायीहरूले बताएका छन्। वैकल्पिक सडक प्रयोग गर्न स्थानीय, पर्यटक तथा यात्रुलाई जानकारी गराइएको उनीहरूको भनाइ छ।

Facebook Comments Box