बाढी–पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौँ । बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न सडक तथा राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार गत भदौ १० गतेको बाढीका कारण रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन्। अर्को सूचना जारी नभएसम्म ती सडक सञ्चालनमा नआउने प्रहरीले जनाएको छ।
असोज १० गते म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, असोज १४ गते नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ जन्ती पहिरोमा पहिरो खसेपछि कालीगण्डकी करिडोर एकतर्फी रूपमा मात्र सञ्चालनमा छ। ठूला सवारीसाधन भने आवतजावत गर्न सकेका छैनन्।
मनाङमा असोज १८ गतेको बाढीपछि बेँसीसहर हुँदै खाङसार जाने सडक पनि प्रभावित भएको छ। हाल उक्त सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। अवरुद्ध सडक खुलाउन र यातायात सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।

