दसैँका लागि शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौँ । दसैँलाई लक्षित गरी आगामी शुक्रबारदेखि लामो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार भएको सरोकारवाला निकायको उच्चस्तरीय बैठकले शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले विगतका वर्षको तुलनामा यसपटक टिकट बुकिङ ढिला भएको विभागले जनाएको छ।
घटस्थापना अर्थात् असोज २५ गतेदेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गरिएको छ। तर, सडकको अवस्थाका कारण निश्चित आकार वा प्रकारका सवारीसाधन चलाउन निषेध गरिएका सडकमा भने सो प्रतिबन्ध कायमै रहनेछ।
नारायणगढ–काठमाडौँ सडकखण्डमा असोज २५ देखि कात्तिक ८ गतेसम्म ट्रेलरसहित ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। खाद्यान्न, औषधी, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ।
यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी केशव खतिवडाका अनुसार भत्किएका सडक मर्मत गरी आवश्यक परे डोजर परिचालन गरेर भए पनि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। वर्षाका कारण जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने भएकाले तत्काल सडक खुलाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।
चाडपर्वका बेला तोकिएभन्दा बढी भाडा असुल गर्ने, कालोबजारी गर्ने तथा टिकटमा अनियमितता गर्नेविरुद्ध कडा कारबाही गरिने विभागले जनाएको छ। यात्रुलाई आधिकारिक काउन्टरबाट मात्रै टिकट खरिद गर्न आग्रह गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार बसपार्क, चाबहिल, बल्खु र कोटेश्वरलगायत तोकिएका स्थानबाट टिकट काट्न सकिनेछ।
विगतमा दसैँमा १८ देखि २० लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेकामा यस वर्ष करिब १५ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ। सडकको अवस्था र पछिल्लो विपद्का कारण यात्रा जोखिमपूर्ण रहेकाले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा नगर्न महासङ्घले आग्रह गरेको छ।
यात्रुको सुरक्षाका लागि लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने, टिकट काउन्टरका कर्मचारीले परिचयपत्र र पोसाक लगाउनुपर्ने तथा टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। दसैँतिहारको समयमा यात्रुको चाप बढ्ने भएकाले विभिन्न टिकट काउन्टरमा सुरक्षाकर्मी परिचालन बढाइनेछ। यात्रुको सहजताका लागि १४ वटा नागरिक सहायता कक्षसमेत सञ्चालन गरिने भएको छ।
यसैगरी, सडक अवरोध तथा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालन गरिनेछ। यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, आगो नियन्त्रण उपकरण र पिउने पानीलगायतका अत्यावश्यक सुविधा अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको महासङ्घले जनाएको छ।

