डिसेम्बरदेखि नेपाल–भारतबीच २०० केभी विद्युत् आदानप्रदान गर्ने तयारी

परासी । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिसी) नेपालअन्तर्गत निर्माण भइरहेको नेपाल–भारत सीमापार प्रसारण लाइनमार्फत आगामी डिसेम्बरदेखि नेपाल र भारतबीच २०० केभी विद्युत् आदानप्रदान गर्ने तयारी गरिएको छ। पूर्ण क्षमताको ४०० केभी सबस्टेसन निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले हाल सञ्चालनमा रहेको २०० केभी प्रणालीमार्फत विद्युत् आदानप्रदान सुरु गर्न लागिएको हो।

नवलपरासी पश्चिमस्थित न्यु बुटवल सबस्टेसनदेखि भारतीय सीमासम्मको १८ किलोमिटर प्रसारण लाइनमा टावर तथा तार जडानको काम सम्पन्न भइसकेको छ। भारततर्फ सीमादेखि गोरखपुरसम्मको करिब ९६ किलोमिटर प्रसारण लाइन निर्माण तीव्र गतिमा भइरहेको छ। गोरखपुरमा ४०० केभी सबस्टेसनका आवश्यक पूर्वाधारसमेत तयार भइसकेका छन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपालतर्फ निर्माण भइरहेको ४०० केभी सबस्टेसन सन् २०२७ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य छ। त्यसअघि न्यु बुटवल सबस्टेसनमा तयारी अवस्थामा रहेको २०० केभी प्रणालीलाई भारततर्फको प्रसारण लाइनसँग जोडेर विद्युत् आदानप्रदान सुरु गरिनेछ। आयोजना प्रमुख विश्वरञ्जन मिश्रका अनुसार दुवै देशबीच आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया पूरा भएपछि सन् २०२६ डिसेम्बरसम्म विद्युत् आदानप्रदान सुरु गर्ने गरी काम भइरहेको छ।

४०० केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि भने नेपाल–भारत सीमापार प्रसारण लाइन पूर्ण क्षमतामा सञ्चालन हुनेछ र उच्च क्षमतामा विद्युत् आदानप्रदान गर्न सकिनेछ। एमसिसी नेपालका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधमा न्यु बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर खण्डमा टावर तथा प्रसारण लाइन निर्माण निर्धारित समयसीमाभित्रै सम्पन्न गरिएको हो।

Facebook Comments Box