अपर त्रिशूली–१ को सुरुङबाट थप १८ मजदुरको शव निकालियो
रसुवा । भोटेकोशी बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र बेपत्ता मजदुरमध्ये थप १८ जनाको शव फेला परेको छ । खोज तथा उद्धारका क्रममा सुरुङभित्रबाट आज थप १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । यसअघि बिहीबार पनि सोही क्षेत्रमा छ जना मजदुरको शव फेला परेको थियो ।
आयोजनाको नौ दशमलव आठ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब एक सय मिटरभित्र शव फेला परेको आयोजनाका सामाजिक विज्ञ हर्क तामाङले जानकारी दिनुभयो । खोज तथा उद्धारमा नेपाली सेना र जलविद्युत् आयोजनाका कर्मचारी परिचालन भएका छन् । बाढीका समयमा सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ ।
फेला परेका शवको पहिचान तथा सनाखत हुन बाँकी रहेको छ । निर्माण कम्पनीले कुन–कुन नामका कति कामदार आयोजनामा पठाएको भन्ने अभिलेख नराखेका कारण शव पहिचानमा समस्या भइरहेको प्रहरीले जनाएको छ । बाढीका कारण आयोजनाका निर्माणाधीन संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेका तथा बेपत्ता मजदुरको खोजी तथा उद्धार जारी राखिएको थियो । २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत् आयोजना हो । सुरुङभित्र बेपत्ता मजदुरको खोजीका क्रममा शव फेला पर्न थालेपछि आफन्त तथा आयोजनासँग सम्बन्धित पक्ष शोकमा परेका छन् ।

