लगातार चार हारपछि नेपालको विश्वकप ग्लोबल क्वालिफायर यात्रा संकटमा, अब ओडिआई मान्यता जोगाउनेमा ध्यान
काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार चार खेल गुमाएपछि नेपालका लागि शीर्ष चारमा रहँदै एकदिवसीय (ओडिआई) विश्वकप ग्लोबल क्वालिफायरमा सिधै स्थान बनाउने सम्भावना अत्यन्त कठिन बनेको छ।
नेदरल्यान्ड्स भ्रमणका क्रममा खेलेका सबै चार खेलमा पराजित भएपछि नेपालले सम्भावित आठ अंकमध्ये कुनै पनि अंक जोड्न सकेन। यससँगै नेपाल अंकतालिकाको छैटौं स्थानमा झरेको छ र अब टोलीको मुख्य लक्ष्य शीर्ष चारभन्दा पनि शीर्ष ६ मा रहेर ओडिआई मान्यता जोगाउनेतर्फ केन्द्रित भएको छ।
नेदरल्यान्ड्ससँगको हारपछि कप्तान रोहित पौडेलले पनि अब टोलीको प्राथमिकता ओडिआई मान्यता सुरक्षित गर्नु रहेको बताएका छन्। होस्ट ब्रोडकास्टरसँग कुरा गर्दै उनले अन्तिम सिरिजका चार खेल नेपालका लागि निर्णायक हुने उल्लेख गरे।
उनले भने, “ओडिआई मान्यता जोगाउन अब हामीसँग अन्तिम सिरिज बाँकी छ। शीर्ष ६ मा रहनु नै हाम्रो मुख्य लक्ष्य हो। बाँकी चार खेल हाम्रो लागि निकै महत्वपूर्ण छन्। त्यसका लागि राम्रो तयारी आवश्यक छ। मलाई टोलीमाथि पूर्ण विश्वास छ र हामी अझ बलियो रूपमा पुनरागमन गर्नेछौं।”
सन् २०२४–२६ को लिग–२ चक्रमा आठ एसोसिएट राष्ट्र प्रतिस्पर्धामा छन्। शीर्ष चार टोलीले सिधै ओडिआई विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् भने बाँकी चार टोलीले ग्लोबल क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ। यद्यपि शीर्ष ६ टोलीको ओडिआई मान्यता कायम रहने चर्चा भए पनि यसबारे आईसीसीले औपचारिक घोषणा भने गरेको छैन।
नेपालले अब बाँकी रहेका चारै खेल जित्नुपर्ने मात्र होइन, अन्य प्रतिस्पर्धी टोलीहरूको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्ने अवस्था छ। ओमानले बाँकी आठ अंकमध्ये एक खेल मात्रै जिते पनि वा नेपालले एक खेल गुमाए पनि शीर्ष चारमा पुग्ने नेपालको सम्भावना समाप्त हुनेछ।
अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंकसहित छैटौं स्थानमा छ। नामिबियाले ३१ खेलबाट २६ अंक जोड्दै नेपाललाई उछिन्दै पाँचौं स्थान कब्जा गरेको छ। क्यानडाको पनि २४ अंक भए पनि कमजोर रनरेटका कारण नेपालभन्दा पछि रहेको छ भने युएई २४ खेलबाट १४ अंकसहित पुछारमा छ।
शीर्ष स्थानमा रहेको अमेरिकाले ३२ खेलबाट ४३ अंक जोड्दै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरिसकेको छ। नेपालमाथिको जितसँगै नेदरल्यान्ड्स ३१ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने स्कटल्यान्ड पनि ३२ खेलबाट समान ३८ अंकका साथ शीर्ष प्रतिस्पर्धामा रहेको छ। ओमान २८ खेलबाट ३१ अंकसहित चौथो स्थानमा कायम छ।

