एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ, २८ वैशाख – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गरिएको हो।

यस वर्ष एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार नतिजा सार्वजनिक भए पनि केही समयपछि मात्र वेबसाइटमार्फत हेर्न सकिनेछ।

एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले विगतका वर्षहरूको तुलनामा नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ।

यस वर्ष एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए। परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ जना छात्रा, २ लाख ५४ हजार ८०१ जना छात्र तथा अन्य ७ जना रहेका छन्।

Facebook Comments Box