निर्वाचनः मुस्ताङमा हिमपातको सम्भावित असरको चिन्ता
मुस्ताङ, २१ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङ जिल्लामा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ। जिल्लाका पाँचवटै स्थानीय तहका मतदान केन्द्र तथा मतदानस्थल सुरक्षा दृष्टिकोणले सामान्य रहेको प्रशासनले जनाएको छ।
यद्यपि, हिमाली जिल्ला भएकाले सम्भावित हिमपातले मतदान प्रक्रियामा असर पार्न सक्ने आकलन गरिएको छ। हिमपात भएमा मतदाता मतदानस्थलसम्म पुग्न कठिनाइ हुने तथा मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई समेत समस्या हुनसक्ने प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनुभयो।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ–डोल्पा सडकमा बाक्लो हिउँ जमेकाले करिब एक महिनादेखि यातायात सेवा अवरुद्ध छ। विगतमा फागुन–चैत महिनामा हिमपात हुने गरेको अनुभव रहेकाले यस वर्ष पनि त्यसको प्रभाव पर्न सक्ने अनुमान गरिएको हो।
निर्वाचन कार्यतालिकाअनुसार मतदानको केही दिन अघि साङ्ता मतदान केन्द्र जाने सडकमा डोजर परिचालन गरी हिउँ हटाएर सडक सहज बनाइने योजना रहेको प्रजिअ शर्माले जानकारी दिनुभयो। यसैबीच, जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा लोमान्थाङ गाउँपालिका–२ को समजुङ मतदानस्थललाई सोही वडाको छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयमा गाभिएको छ।
त्यस्तै, लोघेकर दामोदरकुण्ड–ताङ्ग्याका मतदाताको सहजताका लागि थप एक मतदानस्थल पनि कायम गरिएको छ। हाल थासाङ गाउँपालिकामा ८, घरपझोङ गाउँपालिकामा ६, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १०, वारागुङ मुक्तिक्षेत्रमा ९ र लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदान केन्द्र तथा मतदानस्थल रहेका छन्।
प्रजिअ शर्माका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा सडक पहुँच, विद्युत्, टेलिफोन र इन्टरनेट सुविधा उपलब्ध छ। मुस्ताङमा कूल ११ हजार ३२८ जना मतदाता रहेका छन्, जसमा पुरुष ५ हजार ५५९, महिला ५ हजार ७६८ र अन्य एक जना रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो।
स्थानीय तहअनुसार घरपझोङमा २ हजार ४९२, थासाङमा २ हजार ९०८, लोघेकर दामोदरकुण्डमा १ हजार ५४२, वारागुङ मुक्तिक्षेत्रमा २ हजार ३७६ र लोमान्थाङ गाउँपालिकामा २ हजार ११ जना मतदाता छन्। निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका २६६ जना र सशस्त्र प्रहरी बल नेपालका ४६ जना निर्वाचन प्रहरी छनोट गरिएको छ।
उनीहरूका लागि अनुशिक्षण तालिम आइतबारदेखि सुरु भइसकेको छ। यस निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन र आम जनता पार्टीले उम्मेदवारी दर्ता गराएका छन्।

