निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौँ, १ पुस – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तय गरेको छ ।

सो निर्वाचनमा मतदाताले दुई वटा मतपत्रमार्फत मतदान गर्नेछन् । सामान्यतया निर्वाचनमा सहभागी हुने राजनीतिक दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा भाग लिने प्रचलन भए पनि यसपटक केही दलले समानुपातिक प्रणालीमा सहभागिता नजनाउने भएका छन् । निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुन १०० राजनीतिक दलले दर्ता गराएका छन् ।

ती दलका लागि ९३ वटा निर्वाचन चिन्ह उपलब्ध गराइएको छ । यस्तै, प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने कूल ११४ राजनीतिक दल दर्ता भएका छन् । आयोगले तोकेको कार्यविधि पूरा गरी निर्वाचन प्रयोजनका लागि १०२ राजनीतिक दल दर्ता भएका छन् भने राजनीतिक दलसम्बन्धी नियमावलीअनुसार एकल निर्वाचन चिन्ह लिई १२ राजनीतिक दल दर्ता भएका छन् ।

आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र सहभागी भई समानुपातिक प्रणालीमा नजाने राजनीतिक दलहरूमा राष्ट्रिय समता पार्टी नेपाल, विकासशील जनता पार्टी, राष्ट्रिय साझा पार्टी, परिवर्तन पार्टी, युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी, नेपाल नौलो जनवादी पार्टी र राष्ट्रिय समुन्नति पार्टी रहेका छन् ।

यसैगरी राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रवाद युवा मोर्चा, लोक दल, राष्ट्रवादी एकता पार्टी, विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी नेपाल र सर्वोदय पार्टीले पनि प्रत्यक्ष निर्वाचन प्रणालीमा मात्र भाग लिने भएका छन् । यसरी कूल १४ राजनीतिक दल समानुपातिक निर्वाचन प्रणालीमा सहभागी नहुने भएका हुन् ।

समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार कतिपय राजनीतिक दलले अर्को दलको निर्वाचन चिन्ह प्रयोग गरी समानुपातिकतर्फ भाग लिने भएकाले छुट्टै दल दर्ता नगरेका हुन् ।

Facebook Comments Box