गण्डकीमा डेङ्गु सङ्क्रमित ८११ पुग्दा आधाभन्दा बढी पोखरामै

गण्डकी, १ भदौ

गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमण हुनेको सङ्ख्या ८११ पुगेको छ । पछिल्लो तीन सातामा मात्रै २०२ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी कास्कीमा ४४१ जना सङ्क्रमित छन् । त्यसपछि तनहुँमा १२०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङ र स्याङ्जा दुवैमा ३२–३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुरमा ४ र मुस्ताङमा १ जनामा डेङ्गु देखिएको छ ।

मनाङमा भने अहिलेसम्म कुनै सङ्क्रमण भेटिएको छैन । पुष्टि भएका सङ्क्रमितमध्ये आधाभन्दा बढी बिरामी कास्कीको पोखरा महानगरपालिका क्षेत्रका हुन् । हालसम्म पोखरामै ४३२ जनामा डेङ्गु देखिएको छ । पछिल्ला तीन सातामा मात्र पोखरामा १२९ जना नयाँ बिरामी थपिएका छन् ।

गत वर्ष पोखरा महानगरपालिका डेङ्गुको ‘हटस्पट’ बनेको थियो । त्यतिबेला यहाँ मात्र ८ हजार ६ सयभन्दा बढीमा सङ्क्रमण भएको थियो भने तीन जनाको मृत्यु भएको थियो । विशेषज्ञका अनुसार साउनदेखि कात्तिकसम्म डेङ्गु फैलिने जोखिम बढी हुने भएकाले आगामी दिनमा सङ्क्रमण दर अझ बढ्न सक्ने देखिन्छ । डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय, स्थानीय तह र सम्बन्धित निकायले सक्रियता बढाएका छन् ।

स्थानीय तहले लामखुट्टेको प्रजननस्थल पत्ता लगाउने र नष्ट गर्ने अभियान चलाइरहेका छन् । स्वास्थ्यकर्मीका अनुसार एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने भएकाले घर, कार्यालय वा सार्वजनिक स्थानमा पानी जम्न नदिनु सबैभन्दा प्रभावकारी उपाय हो । खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडामा पानी जम्मा हुन नदिने र भएमा नष्ट गर्नुपर्ने सुझाव दिइएको छ ।

Facebook Comments Box