रविलाई नख्खु कारागारमा अड्डासार, छुट्टै कोठामा राखिने तयारी
काठमाडौं, ३१ साउन
भैरहवा कारागारमा थुनामा रहेका रवि लामिछानेलाई आज अड्डासार गरेर ललितपुरको नख्खु कारागारमा लगिएको छ। उनलाई नख्खु कारागारभित्रको ‘सीआरसी’ ब्लकमा राखिएको छ, जहाँ विगतमा रौतहट विस्फोटका आरोपी अफताब आलम पनि थुनामा राखिएका थिए।
कारागार स्रोतका अनुसार, उक्त ब्लकमा करिब ४ सय कैदीबन्दी छन्। तर लामिछानेलाई छुट्टै कोठामा राख्ने तयारी भएको बताइएको छ। नख्खु कारागारको आन्तरिक प्रशासनकै व्यवस्था अनुसार उनी अन्य कैदीजस्तै समान सुविधा पाउनेछन्।
कारागारका एक अधिकारीले भने, “संरचनाका हिसाबले भैरहवाभन्दा नख्खु सहज र सुरक्षित छ। अरु कैदीबन्दीलाई जस्तै उहाँलाई पनि सुविधा मिल्नेछ।”
रविले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए। अदालतले जेठ १६ गते नै अनुमति दिएको भए पनि अड्डासार तत्काल हुन सकेको थिएन।
पछि गृह प्रशासनले उनलाई नख्खु कारागार सरुवा गर्ने निर्णय गरेको थियो। आज भैरहवाबाट काठमाडौं ल्याइएका लामिछानेलाई नख्खु कारागारमा पुर्याउँदा समर्थकहरूको भीड लागेको थियो।

