कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक सर्वसम्मत पारित

विराटनगर, २३ असार – कोशी प्रदेशसभाले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ लाई प्रतिस्थापन गर्न तयार गरिएको विधेयकलाई सोमबार सर्वसम्मत पारित गरेको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले संसद्मा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। सभामुख अम्बरबहादुर विष्टले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा संसद्ले सर्वसम्मतले अनुमोदन गरेको हो।

विधेयकमाथि न कुनै संशोधन दर्ता भएको थियो, न त दफावार छलफलमा कुनै सांसद सहभागी भएका थिए। सभामा महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन, २०८२ मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट मन्त्री भण्डारीले प्रस्तुत गरेका थिए।

शून्य समयमा नेकपा (एमाले) संसदीय दलका सदस्य रमेशकुमार बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने धारणा राखे।

उनका अनुसार वार्षिक पाँच लाख नागरिकले बहिरङ्ग सेवा र करिब ४५ हजारले आकस्मिक सेवा लिने यो प्रतिष्ठान नेपाल–भारतकै लागि नमूनायोग्य संस्था हो।

उनले निजामती कर्मचारी ऐनमा रहेको ‘कुलिङ अफ पिरियड’को त्रुटिमा कसैले पनि जिम्मेवारी नलिएकोप्रति असन्तुष्टि जनाउँदै दोषीमाथि कारबाही हुनुपर्ने माग गरे।

प्रदेशसभा सदस्य राजन किरातीले पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलमाथि गम्भीर आरोप लगाउँदै कर्मचारीसँग सरुवाका लागि रकम माग गरेको भन्दै सामाजिक सञ्जालमा फैलिरहेका समाचारप्रति ध्यानाकर्षण गराए। उनले घटनाको निस्पक्ष छानबिन हुनुपर्ने माग गरे।

सदस्यहरू गोपालबहादुर बस्नेत, किशोरचन्द्र दुलाल, शोभा चेम्जोङ र ललिताकुमारी चौधरीले पनि विभिन्न सामाजिक, प्रशासनिक र विकाससम्बन्धी विषयमा आफ्ना विचार राखे। कोशी प्रदेशसभाको अर्को बैठक भोलि (२४ असार) बिहान ११ बजे बस्नेछ।

Facebook Comments Box