‘भोजपुर प्रतिभा पुरस्कार’बाट प्रेम शाक्य सम्मानित
भोजपुर, २३ असार – यस वर्षको ‘भोजपुर प्रतिभा पुरस्कार’ वाद्यवादनमार्फत नेवारी कला र संस्कृतिमा योगदान पुर्याउने टक्सार निवासी प्रेम शाक्यलाई प्रदान गरिएको छ। त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शाक्यलाई आइतबार एक कार्यक्रमका बीच सम्मान गर्दै पुरस्कार प्रदान गरेको हो।
सन् २०४५ सालदेखि वाद्यवादकका रूपमा सक्रिय शाक्यले खीं, धा, धिमे, नाय्खी, हारमोनियम र तबलाजस्ता नेवारी वाद्ययन्त्रको प्रशिक्षणमार्फत सांस्कृतिक संरक्षणमा योगदान दिँदै आउनुभएको छ। पुरस्कार कोषका संरक्षक अमृका ताम्राकारका अनुसार, शाक्यको योगदानलाई उच्च मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम तमोटले शाक्यलाई सम्मानपत्र र नगद २२ हजार २२२ रुपैयाँसहित सम्मान गर्नुभयो। वि.सं. २०१७ मा जन्मनुभएका शाक्य भोजपुर नगरपालिका–१२ टक्सारका स्थायी बासिन्दा हुनुहुन्छ। प्रतिष्ठानले हरेक वर्ष साहित्य, कला र संगीत क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई यो पुरस्कार प्रदान गर्दै आएको छ।

