हेवाखोलाको निर्माणधीन बेलिब्रिज भाँचिदा ६ जना मजदुर घाइते

विराटनगर, १ असार – मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम नगरपालिका– ४ र हिलिहाङ गाउँपालिका– ७ जोड्ने हेवाखोलाको पुल भाँचिएको छ । निर्माणधीन अवस्थामा यो पुल भाँचिएको हो । पुल भाँचिदा ६ जना मजदुर घाइते भएका छन् । उनीहरु सबैको अवस्था गम्भीर छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार घाइते सबै मजदुर बाराको जितपुरसिमरा उपमहानगरपालिका– १२ का हुन् ।

दुर्घटनामा बाराको जितपुरसिमरा उपमहानगरपालिका – १२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका हुन् । उनीहरुको जिल्ला अस्पताल पाँचथरबाट थप उपचारका लागि झापा रेफर गरिएको छ ।

२०८० असारमा आएको बाढीले हेवाखोलाको पुल बगाएको थियो । पुल बगेपछि अवरुद्ध राजमार्गमा बेलिब्रिज निर्माण गरि यातायात सुचारु भयो । तर गत असोज १२ गते आएको बाढीले बेलिब्रिज पनि बगायो । बेलिब्रिज बगेपछि हेवा खाेलामा डाइभर्सन बनाएर अवरुद्ध मेची राजमार्ग खाेलिएकाे थियाे । अहिले पनि डाइभर्सनबाटै यातायात सुचारु हुन्छ । शनिबार निर्माणाधीन अवस्थाकाे बेलिब्रिज नै भाँचिएको हाे ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार नयाँ प्रविधिको यो बेलिब्रिज ७० मिटर लामो थियो । आज पुल जोडेर सक्ने तयारी रहेको बताउँदै उनले निर्माणका क्रममा नै भाँचिएको बताए । ‘भारतको प्राविधिक सहयोगमा अलिक युनिक टेक्नोलोजिको पुल भनिएको थियो,’ उनले भने,‘ कसरी भाँचियो भन्ने खुलिसकेको छैन ।’

उनका अनुसार आज जडान सकेर १–२ दिन परीक्षण पछि पुल सञ्चालन गर्ने योजना थियो । ७० मिटर लामो पुल जडानका क्रममा बिचमा कुनै सपोटपिलर राखिएको थिएन् । नयाँ टेक्नोलोजी प्रयोग गरिएको पुल निर्माणको प्रक्रिया थप लम्बिनेछ । अब पुल नै भाँचिएपछि बर्खामा ताप्लेजुङसँगको यातायात सम्पर्क टुट्ने जोखिम बढेको छ ।

Facebook Comments Box