ओली मोदी टेलिफोन वार्ता, अपराधीलाई कठघरामा उभ्याउँने प्रतिबद्धता
काठमाडौं, १० वैशाख – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नलाई कठघरामा उभ्याउने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको टेलिफोन वार्तामा मोदीले अपराधीलाई कठघरामा उभ्याउन भारत प्रतिबद्ध रहेको कुरामा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
‘उक्त आतंकवादविरुद्धको लडाइामा भारत र नेपाल एकसाथ उभिएका छन्’, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘प्रधानमन्त्री मोदीले एक युवा नेपाली नागरिकको मृत्यु भएको प्रति समवेदना व्यक्त गर्नुभएको छ ।’
प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री मोदीसँग आतंकवादी हमलाबारे कुराकानी भएको उल्लेख गरेका छन् ।
‘मैले आतंकवादी हमलमा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै यस्ता जघन्य कृत्यप्रति नेपाल भारतको साथमा छ भनेको छु’, उनले भने, ‘साथै, नेपाली नागरिकको मृत्युमा समवेदना प्रकट गरेको प्रति धन्यवाद समेत दिएको छु ।’
मंगलबार आतंकवादी समूहले गरेको आक्रमणमा पहलगामस्थित पर्यटकीय क्षेत्रमा २६ जनाको ज्यान गएको थियो । सो आक्रमणमा परेर बुटवलका सुदीप न्यौपानेको समेत मृत्यु भएको थियो । उनकी आमा समेत घाइते छिन् ।

