रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा

काठमाडौं , ५ असार – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा गएका छन् । पुटिनलाई स्वागत गर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन आफैं सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । उत्तर कोरियाको भ्रमणमा पुटिन दोस्रो पटक पुगेका हुन् । रुसले पुटिनको यो भ्रमणलाई ‘मैत्रीपूर्ण राजकीय यात्रा’ नाम दिएको छ ।

पुटिनको उत्तरकोरिया भ्रमणले विश्वभर चर्चा पाइरहेको छ । पश्चिमा देशहरुले यी दुई नेताबीच हुने छलफललाई चासोका साथ हेरेका छन् । उनीहरुलाई रुस र उत्तर कोरियाबीच हतियारको डिल हुन सक्ने डर छ । युक्रेनविरुद्धको लडाइँमा रुसलाई उत्तर कोरियाले आर्थिक सहायता र प्रतिरक्षा प्रविधिसँग सम्बन्धी समझदारी हुने अनुमान पश्चिमा देशहरुले गरेका छन् ।

हुन पनि रुसलाई युक्रेनविरुद्धको लडाइँमा डटिरहन थप अत्याधुनिक हतियारको आवश्यकता छ । युक्रेनलाई अमेरिका र अमेरिकाका सहयोगी देशहरुले सहयोग गर्दै आएकाले रुसलाई युक्रेनसँगको लडाइँ पेचिलो बन्दै गएको छ । ब्रिटिश मिडिया वेबसाइट इन्डिपेन्टका अनुुसार पुटिन र किमजोङ्ग उनबीच एक बैठक पनि आयोजना भएको छ ।

सो बैठकमा पुटिनले युक्रेनविरुद्धको लडाइँमा रुसलाई समर्थन गरेको भन्दै उत्तर कोरियाको प्रशंसा गरेका थिए । साथै उनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्धको मिलेर सामना गर्ने चाहना पनि व्यक्त गरेका थिए ।उत्तर कोरिया बसाइको क्रममा पुटिन गाला कन्सर्टमा सहभागी हुने र अर्थोडक्स चर्चको भ्रमण गर्ने छन् ।

दुई दिने भ्रमणका लागि उत्तर कोरियामा जानुअघि पुटिनले त्यहाँको पत्रिकामा लेख पनि लेखेका थिए । सो लेखमा पुटिनले उत्तर कोरिया र त्यहाँका जनताले आफूलाई गरेको समर्थनप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै उनले भनेका छन्, ‘कपटी, खतरनाक र आक्रामक दुश्मनविरुद्ध उत्तर कोरियाली जनताको स्वतन्त्रता तथा पहिचानको लडाइमा रुसले सधैं साथ दिँदै आएको छ र आगामी दिनमा पनि दिइरहने छ ।’

Facebook Comments Box