कोसी प्रदेशले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट विनियोजन

कोसी, १ असार – कोसी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। कुलमध्ये चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख र वित्तीय व्यवस्थापनतर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख बजेट छुट्याएको प्रदेशका आर्थिक मामिलामन्त्री रामबहादुर मगरले जानकारी दिए।

चालू खर्चमध्ये संघीय अनुदानतर्फ फिर्ताका लागि ३ अर्ब रहेको उनले बताए। बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अनुदानबाट ४ अर्ब १६ करोड ४३ लाख, समपूरक अनुदानबाट ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोरिने उनले बताए।

बाँकी नगद मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख व्यहोरिने पनि उनले उल्लेख गरे। चालू आर्थिक वर्षमा कोसी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको थियो।

Facebook Comments Box