हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति

काठमाडौं, १८ चैत – गएरातिको हावाहुरीले भक्तपुर एफएमको टावरमा क्षति पुगेको छ । टावरमा क्षति पुगेपछि एफएमको प्रसारणमा पनि बाधा पुगेको छ । भक्तपुर एफएम भक्तपुर नगरपालिकाले चलाउँछ । नगरपालिकाका मेयर सुनिल प्रजापतिले एफएमको टावरमा क्षति पुगेको बताए । तर विस्तृत विवरण थाहा नभएको उनले बताए ।

भक्तपुर एफएमका अध्यक्ष सत्यनारायण मानन्धरले पनि टावरमा क्षति पुगेको जानकारी पाएको तर त्योबाहेक थप थाहा नभएको बताए । ‘हामी साथीहरु भेला भएर एफएममा जाँदैछौं, त्यहाँ पुगेपछि विस्तृत थाहा होला,’ उनले भने । भक्तपुर प्रहरी परिसरका प्रवक्ता बसन्त पाठकले पनि गएरातिको हावाहुरीले एफएमको टावरमा क्षति पुगे पनि अन्य क्षतिको विवरण प्राप्त नभएको बताए ।

शनिबार बेलुकी काठमाडौंमा मेघगर्जन र हावाहुरीसहित पानी परेको थियो । पाल्पामा पनि हावाहुरीले रुख ढाल्दा दुई जना च्यापिएकोमा एक जनाको मृत्यु भएको थियो । चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको थियो ।

Facebook Comments Box