उपकुलपति नियुक्तिबारे शिक्षा समितिको शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि सर्टलिष्ट (छोटो सूची) मा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिको ध्यानाकर्षण गराएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले उपकुलपतिका लागि सर्टलिष्टमा परेका व्यक्तिबारे छलफल गर्दै बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा जरिवाना पाएका पनि सर्टलिष्टमा परेकाले नियुक्तिको प्रक्रिया तत्काल रोक्नुपर्ने भनेपछि समितिले विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

समिति सभापति भानुभक्त जोशीले छलफलमा उठेका विषयबारे पुनर्विचार गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सिफारिस समितिलाई ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।

“अहिले उपकुलपति छनोट प्रक्रियामा परेकामध्ये केहीलाई बौद्धिक चोरी, भ्रष्टाचार, सूचना लुकाएकालगायत आरोप लागेकाले ती व्यक्तिका बारेमा विशेष ध्यान दिनका लागि मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो ।

समितिले त्रिभुवन विश्वविद्यालयमा कार्यबाहक कुलपतिले विभिन्न निर्णय गरेको विषयबारे छानबिन गरी आवश्यक कारबाही गर्न पनि निर्देशन दिएको छ । सभापति जोशीले उपकुलपति नियुक्ति पारदर्शी बनाउन र नियुक्ति प्रक्रिया सामान्य जनताले अनुभूत गर्नेगरी गर्न उपकुलपति सिफारिस समितिलाई आग्रह गर्नुभयो ।

उहाँले विश्वविद्यालय उपकुलपति नियुक्तिबारे फरक–फरक मापदण्ड रहेको पाइएको भन्दै विश्वविद्यालय शिक्षा सुधारका लागि सबै गम्भीर हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

बैठकमा शिक्षाराज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालय ऐन बमोजिम उपकुलपति छनोटका लागि सिफारिस समिति बनेको भन्दै उक्त समितिले आवश्यक प्रक्रिया र ऐन कानुनबमोजिम योग्य र सक्षम व्यक्ति सिफारिस गर्ने विश्वास व्यक्त गर्नुभयो ।

शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले उपकुलपति छनोटको प्रक्रिया रद्द गर्न नमिल्ने भए पनि सर्टलिष्टमा परेका बौद्धिक चोरीको आरोप लागेका व्यक्तिका बारेमा सिफारिस समितिले आवश्यक छानबिन गर्ने विश्वास दिलाउनुभयो ।

यसैबीच बैठकमा बोल्ने सांसदहरुले उपकुलपति छनोट प्रक्रियाको सर्टलिष्टमा रहेका व्यक्तिहरु बौद्धिक चोरीको आरोप लागेका, सूचना लुकाएको आरोपमा सूचना आयोगबाट जरिवाना पाएका र भ्रष्टाचार मुद्दा लागेका व्यक्तिहरू परेको भन्दै मन्त्रालय र समितिको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद बद्रीप्रसाद पाण्डेले उपकुलपति छनोटका लागि अधिकतम विवेक प्रयोग गरिनुपर्ने भन्दै छनोट प्रक्रियाको दीर्घकालीन समाधानका लागि नीतिगत सुधार जरुरी भएको बताउनुभयो ।

सांसद डा चन्द्रकान्त भण्डारीले विश्वविद्यालय सुधार गर्ने कार्ययोजना र सोचका आधारमा छनोट प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने बताउनुभयो । सांसद विद्या भट्टराईले विश्वविद्यालयका कार्यबाहक कुलपतिले गरेका कानुन विपरीतका निर्णय भए रद्द गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद सुमना श्रेष्ठले कार्यबाहक उपकुलपतिले क्षेत्राधिकार मिचेर काम गर्न नमिल्ने जिकिर गर्नुभयो । सांसद तोसिमा कार्कीले उपकुलपति छनोटका सर्टलिष्टमा परेकामध्ये केही बौद्धिक चोरीमा संलग्न रहेको पाइएको भन्दै उनीहरुलाई उक्त सूचीबाट हटाउन माग गर्नुभयो ।

सांसद डा कालुराम राईले विवादमा परेका व्यक्तिलाई सर्टलिष्टबाट हटाउन सिफारिस समितिलाई आग्रह गर्नुभयो । सांसद रामप्रकाश चौधरीले उपकुलपति नियुक्ति मापदण्ड कडाइकासाथ लागू गरिनुपर्नेमा जोड दिनुभयो । सांसद ईश्वरी घर्तीले उच्च शिक्षा सुधारका लागि उपकुलपति योग्य र सक्षम व्यक्ति चयन गरिनुपर्ने बताउनुभयो ।

Facebook Comments Box