प्रशासन पछि हटेपछि झापा कारागारको अवस्था सामान्य

विराटनगर, १९ साउन – चौकीदारको सरुवाको विरोधामा जिल्ला कारागार झापामा भएको झडप साम्य भएको छ । कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।

झडपपछि कैदीबन्दीले कारागार भित्रै टायर बालेर प्रदर्शन गरेका थिए । कारागार भित्रबाट बाहिर ढुंगामुढा पनि गरेका थिए । ‘कैदीबन्दीलाई सार्ने निर्णयको विरोधमा भित्रबाट बाहिर ढुंगामुढा गरे,’ उनले भने, ‘मुढा बनाउनका लागि कारागारमा लगेको टायर बालेर प्रदर्शन गरे ।’

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार शुक्रबार प्रहरीले सरुवाका लागि चौकीदार मनोज लावतीलाई बाहिर निकालेको थियो । तर कैदीबन्दीको विरोध र आगजनी प्रयासपछि भने उनलाई कारागार भित्रै पठाइएको छ ।

कारागारबाटै कैदीबन्दी भाग्ने अवस्था बनेपछि कारागारलाई घेरेर केही राउण्ड हवाइ फायर पनि गरेको उनले बताए । सरुवाका लागि कारागारबाट बाहिर निकालिएका चौकीदार लावतीलाई झापामै छाडेपछि अवस्था सामान्य बनेको उनले बताए ।

‘विभागले सरुवा गरेका मध्ये एउटा मान्छेलाई बाहिर निकालेर लैजान खोज्दा भित्र छापेका ढुंगा उक्काएर बाहिर हाने, ढुंगामुढा गरे, भित्रै टायर पनि बाले,’ रेग्मीले भने,‘ सबै तिरबाट घेरेर हवाई फायर पनि गरेर स्थिति नियन्त्रणमा लिइयो, त्यो मान्छेलाई अहिले बस्दै गर भनेर भित्र पठाइयो ।’

हवाइ फायरको रिपोर्ट आइनसकेको बताउँदै उनले अहिले अवस्था सामान्य रहेको बताए । कैदीबन्दीले भित्रै टायर बालेपछि कारागारभित्रबाट धुँवाको मुस्लो बाहिर निस्किएको थियो । कैदीबन्दीले बालेको आगो निभाउन प्रहरीले दकमल प्रयोग गरेको थियो ।

Facebook Comments Box