कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा क्षणिक वर्षाको सम्भावना, ‘गर्मी क्रमशः बढ्दो

काठमाडौं, २५ चैत – केही दिनयता गर्मी बढ्दै गएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार एक हप्तायता तापक्रम उकालो लागिरहेको छ। ‘गर्मी क्रमशः बढ्दो छ’, मौसमविद् पौडेलले भने, ‘काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम अहिलेसम्म २९ डिग्री सेल्सियस पुगेको छ भने सबैभन्दा बढी गर्मी भएका जनकपुर, भैरहवातिर अधिकतम तापक्रम ३६ डिग्री सेल्सियससम्म पुगेको छ।’

मौसमविद् पौडेलका अनुसार तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ। ‘तर यसो भनेर दिनदिनै तापक्रम बढ्छ भन्ने हुँदैन’, उनले भने, ‘आकाशमा बादल लागेको दिन तापक्रम केही घट्न सक्छ भने हावा चल्दा तापक्रम स्थिर रहन्छ।’ तर पनि सामान्यतया गर्मी बढ्दो क्रममा नै रहने उनले बताए।

आजको मौसम…
स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावले यतिबेला कर्णाली, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कर्णाली प्रदेशको पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। काठमाडौँ उपत्यकामा ‘बेलुकीपख छिटपुट र क्षणिक वर्षा हुनसक्छ।

Facebook Comments Box