नेपाल टी–ट्वान्टीमा आजबाट प्लेअफका खेल सुरु हुँदै
काठमाडौं, २४ पुस – काठमाडौंमा जारी रहेको पहिलो संस्करणको नेपाल टी–ट्वान्टीमा आजबाट प्लेअफका खेल सुरु हुँदैछ । प्लेअफको पहिलो दिन आज पहिलो क्वालिफायर हुदैछ । किर्तिपुर स्थित टियु मैदानमा हुने यो खेल मध्यान्ह १२ः३० बाट सुरु हुनेछ । पहिलो क्वालिफायरमा यस लिगको समूह चरणका खेलमा पहिलो दोस्रो स्थानमा रहेका टोलीबीच खेल हुनेछ ।
पहिलो स्थानमा रहेको लुम्बिनी अल स्टार र दोस्रो स्थानमा रहेको जनकपुर रोयल्सबीचमा खेल हुँदैछ । आजको पहिलो क्वालिफायर बिजेताले फाईनलमा स्थान बनाउँने छ । पराजित हुने टोलीले सोमबार हुने ईलिमेटर खेलको बिजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ ।
यस लिगको समूह चरणको दुई खेलमा एकआपसका विरुद्ध खेलेका यि टिमहरुले १–१ खेल जितेका छन् । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । पहिलो संस्करणको लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरी ६ टोलीको सहभागिता रहेको छ ।

