पेट्रोल र डिजलमा प्रतिलिटर तीन रुपैयाँ घट्याे
काठमाडौँ, २ पुस – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य अङ्कले घटाएको छ । आज मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु तीनले घटाएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु एक सय ८१ रहँदै आएकामा अब भने प्रतिलिटर रु एक सय ७८ मा बिक्री हुनेछ ।
डिजल प्रतिलिटर रु एक सय ७८ मा बिक्री भइरहेकामा अब भने रु एक सय ७५ मा बिक्री हुनेछ । मट्टीतेल प्रतिलिटर रु एक सय ७८ मा बिक्री हुँदै आएकामा अब भने रु एक सय ७५ मा बिक्री वितरण हुने निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत नै राखिएको छ ।
निगमले सरकार र इण्डियन आयल कर्पोरेशनलाई नियमित भुक्तानीसहित रु १९ अर्ब तिर्न बाँकी रहेको जनाएको छ । बाँकी बक्यौता तथा सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण रहेको जनाइएको छ ।

