निहारिका राजपुतका छोराको डीएनए शिवराजसँग मिल्यो

काठमाडौं, १८ कात्तिक – निहारिका राजपुत प्रकरणमा जोडिएका शिवराज श्रेष्ठ र निहारिकाको छोराको डीएनए मिलेको छ। उच्च अदालत जनकपुरको आदेशअनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा दुवै जनाको डीएनए परीक्षण गरिएको थियो।

डीएनए परीक्षण रिपोर्ट विधि विज्ञानज प्रयोगशालाले शुक्रबार नै उच्च अदालत जनकपुर पठाइसकेको छ। उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले निहारिका राजपुतका छोरा र शिवराज श्रेष्ठको डीएनए मिलेको रिपोर्ट प्रयोगशालाबाट आएको बताएका छन्।

लामो समयदेखि निहारिका राजपुतले आफ्नो छोरा शिवराज श्रेष्ठको भएको भन्दै डीएनए परीक्षण गर्नुपर्ने माग गर्दै आएकी थिइन्। उनी पछिल्लो समय काठमाडौंमा धर्ना बस्नेदेखि आत्मदाहसम्मको प्रयास गरेकी थिइन्। उनी शुक्रबार पनि आन्दोलन गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन्।

निहारिकाले आरोपित गरेका शिवराज श्रेष्ठलाई प्रहरीले गत साउन ३१ गते पक्राउ गरेको थियो। उनी २४ दिन प्रहरी हिरासत बसेर छुटिसकेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाले उनलाई १ हजार धरौटीमा छाडेको थियो।

त्यसलगत्तै उनी डीएनएका लागि उच्च अदालत जनकपुरमा भदौ २३ मा उपस्थित भएका थिए। त्यसपछि अदालतले डीएनए परीक्षण प्रक्रिया उच्च सरकारी वकिल कार्यालयबाट अघि बढाउन भनेको थियो।

Facebook Comments Box