त्रिभुवन विश्वविद्यालय र नेविसंघबीच ८ बुँदे सहमति

काठमाडौं, २ कात्तिक – त्रिभुवन विश्वविद्यालय र लामो समयदेखि आन्दोलित नेपाल विद्यार्थी संघ (नेविसंघ)बीच सहमति भएको छ। विभिन्न शैक्षिक मुद्दा अघि सारेर आन्दोलन गर्दै आएको नेविसंघ र विश्वविद्यालय वार्ता समितिबीच बुधबार ८ बुँदे सहमति भएको हो।

सहमतिअनुसार व्यवस्थापन संकाय बीबीएतर्फ गत असार २२ र २५ गते सञ्चालित परीक्षाका प्रश्नपत्रहरुमा देखिएको त्रुटिबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने भएको छ। यस्तै मानविकी संकायको परीक्षा सम्बन्धमा गठित समितिको प्रतिवेदनले दोषी ठहर गरेका व्यक्तिहरुमाथि कारवाही गरिने भएको छ।

एमए तेस्रो सेमेस्टरको पब्लिक इकोनोमिक्स र प्रथम सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयका प्रश्नपत्रहरु गत वर्षकै सालकै हुबहु दोहर्‍याएको र बीबीए छैटौँ सेमेस्टरको ‘अर्गनाइजेसन विह्याभियर’ विषयको बोर्ड परीक्षामा निजी कलेजको प्री–बोर्डको प्रश्नपत्र ल्याएर जस्ताको त्यस्तै सोधिएको तथा बीबीएका अन्य चार पेपरहरुमा त्रुटि देखिएको भन्दै नेविसंघले छानबिनसहित कारवाही माग गर्दै आएको थियो।

Facebook Comments Box