सरकारले बजेट कार्यान्वयनमा गएको दुई महिना नपुग्दै करको दर हेरफेर

काठमाडौं, २३ भदौ – सरकारले बजेट कार्यान्वयनमा गएको दुई महिना नपुग्दै करको दर हेरफेर गरेको छ। चालू आर्थिक वर्षको लागि जनार्दन शर्माले जेठ १५ गते बजेट सार्वजनिक गरेका थिए। उनकै प्रस्तावमा सरकारले करको दर हेरफेर गरेको हो।

आज राजपत्रमा सूचना जारी गर्दै अर्थ मन्त्रालयले केही वस्तुको करको दर संशोधन गरेको जानकारी दिएको छ। फलामे डन्डीको भन्सार महशुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ। त्यस्तै सेनिटरी प्याडको कच्चा पदार्थ पफोरेटेड पीई आयात गर्दा अब अन्त:शुल्क नलाग्ने भएको छ।

त्यस्तै तेलको कच्चा पदार्थ आयात गर्दा भन्सार छुट ९० प्रतिशत दिएको छ। त्यसमा वनस्पति घ्यू, पाम तेल, कच्चा सूर्यमुखी तेल आयात गर्दा भन्सार महशुल ९० प्रतिशत छुट हुनेछ। यस्तो छुट औद्योगिक प्रयोजनको आयातमा दिइएको हो।

राजपत्रमा भनिएको छ, ‘आर्थिक ऐन, २०७९ को भन्सारसम्बन्धी अनुसूची १ को दफा १४ को उपदफा ३ मा भटमासको गेडाबाट तेल तथा पिना उत्पादन गर्ने उद्योगले उपशीर्षक १२०१।००।०० मा पर्ने भटमासको गेडा पैठारी गर्दा लाग्ने भन्सार महशुलमा हालको पचास प्रतिशत छुटको सट्टा ९० प्रतिशत छुट कायम गरिनेछ।’

Facebook Comments Box