रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले संकल्प सार्वजनिक गर्याे
काठमाडौं, ११ वैशाख – रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले संकल्प सार्वजनिक गर्दै सीपमूलक प्राङ्गाणिक मल उद्योगको स्थापनासँगै साना उद्योगलाई प्राथमिकता दिने भएको छ ।
उद्योग अन्तर्गत महिला, युवा उद्यमीलाई प्राथमिकता उत्पापदित सामानको बजारको व्यवस्थापन पनि गर्ने भएको छ । साथै, प्लास्टिक मुक्त गाउँ सहर बनाउने उसले प्रतिवद्धता गरेको छ ।
एक गाउँपालिकामा कम्तिमा ३ सय जना रोजगारीको सिर्जना गर्ने लक्ष्य लिएको छ । शिक्षा, स्वास्थ्य सतप्रतिशत निःशुल्कको साथै “एक वडा एक खेल मैदान’को नारा दिदैं उसले विभिन्न वाचा गरेको छ ।
यस्ता छन् संकल्प
१. हामी स्वागतद्वारको नाममा अनावश्यक खर्च गर्नेछैनौँ ।
२. हामी भ्यू–टावर बनाउने छैनौं ।
३. अनावश्यक कल्भर्ट, निर्माणमा ध्यान दिने छैनौं ।
४. हामी विकास बजेट खर्चेर सभाहल, भवन बनाउने छैनौं ।
५. हाम्रो जोड शिक्षा, स्वास्थ्य, जन सरोकार, शान्त दुव्र्यसनमुक्त समाजमा रहनेछ ।
पार्टीका जनप्रतिनिधिले यी कार्य गर्ने छैनन्
(क) कृषि जमीनको खण्डीकरण
(ख) सार्वजनिक सम्पत्तिको दोहन
(ग) ठेक्कापट्टाबाट लाभ
(घ) धार्मिक क्षेत्रमा लगानी
(ङ) राजनैतिक विभेद
के छ अन्य योजना ?
१. पार्टी विजय भएको पालिकामा कुनै पनि कार्य विचौलिया मार्फत काम गर्ने छैन ।
२. कृषक, उद्योगी, उद्यमी, आदिले उत्पादन गरेका वस्तु उनै मार्फत विक्री वितरण गर्ने व्यवस्था गर्नेछ ।
३. विकास निर्माणका कार्यहरु उपभोक्ता मार्फत गर्ने व्यवस्था मिलाउने छ ।
ढकिया चुनाव चिन्ह रहेको पार्टीले “अबको भविष्य युवाको हातमा र ज्येष्ठ नागरिकको जीवन सुरक्षा हाम्रो काँधमा” भन्ने संकल्प पनि गरेको छ ।

