सुरक्षा ब्रिफ्रिङमा निर्वाचन आयोगको चिन्ता
काठमाडौँ, २२ चैत – निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचन–२०७९’को एकीकृत सुरक्षा नीतिबारे व्रिफिङ लिएको छ । सोमबार बसेको आयोगको निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा अंगका अधिकारीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तहरुलाई एकीकृत सुरक्षा नीतिबारे व्रिफिङ गरेका हुन् ।
बैठकमा सहभागी एक उच्च अधिकारीका अनुसार गृह मन्त्रालयका तर्फबाट तयार पारिएको एकीकृत सुरक्षा नीतिमा भएका व्यवस्थाबारे आयुक्तहरुलाई जानकारी दिइएको थियो । ‘नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई तोकिएको जिम्मेवारी र पोजिसनिङबारे जानकारी गराइएको थियो,’ ती अधिकारीले भने, ‘निर्वाचनका समयमा आइपर्नसक्ने चुनौतिबारे पनि छलफल भएको थियो ।’
बैठकमा निर्वाचनको समयमा गम्भीर सुरक्षा चुनौति नभएको विश्लेषण गरिएको छ । स्रोतका अनुसार बैठकमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सबै सुरक्षा निकायको समन्वयमा निर्वाचनलाई भयरहित र निष्पक्षरुपमा सम्पन्न गराउनुपर्ने बताएका थिए । स्रोतका अनुसार आयुक्तहरुले निर्वाचन आचारसंहिता पालनाका विषयमा सामाजिक सञ्जालमा कसरी निगरानी गर्न सकिएला भनेर प्रश्न गरेका थिए ।
‘सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता उल्लंघन हुनसक्ने भएकाले कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि उहाँहरुको जिज्ञासा रह्यो’ ती अधिकारीले भने, ‘त्यसका लागि आयोगले पनि आईटी सेल बनाउने र सुरक्षा निकायका तर्फबाट पनि छुट्टै प्रयास गर्ने भन्ने भएको छ ।’

