त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई ८ विकेटले हरायाे

काठमाडौं, १७ चैत – त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले मलेसियालाई पराजित गरेको छ । लिगको आफ्नो अन्तिम खेलमा मलेसियाविरुद्ध पीएनजीले ८ विकेटको फराकिलो जित निकालेको हो ।

पीएनजीले आफ्नो लगातार ९ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको पराजयलाई मलेसियाविरुद्ध जित निकाल्दै तोडेको छ । १ सय ९७ रनको लक्ष्य पछ्याएको पीएनजीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पीएनजीको जितमा उसका दुई खेलाडीले अर्धशतकीय इनिङ खेले ।

टोनी उराले ३४ बलमा १० छक्का र २ चौकाको मद्दतमा अविजित सर्वाधिक ८६ रन बनाए । यस्तै कप्तान असद भालाले अविजित ७४ रनको इनिङ खेले । उनले ५१ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।

यस्तै पीएनजीका ओपनर लेगा सिएका गोल्डेन डक हुँदा चार्ल्स अमिनीले २२ बलमा ५ चौका प्रहर गर्दै २८ रनको योगदान गरे । मलेसियाका बलर पीएनजीका ब्याटरसामु निरिह रहे । मुहमद वाफिक र सेज्रुल इद्रुसले १/१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनायो । मलेसियाका सेइद अजिजले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ६४ रन बनाए । यस्तै कप्तान अहमद फाजीले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६४ रन बनाए ।

जुबईदी जुल्किल्फेले ४६ रन, भिरनदीप सिंहले १० रन जोड्दा मुहमद अमिर ८ रनमा आउट भए । पीएनजीका काबुअ मोरेअले ४ विकेट हात पारे । यस्तै चाड सोपर र रिले हेकुरेले समान १/१ विकेट लिए ।

जितसँगै पीएनजीले सिरिजको फाइनल सम्भावना कायम राखेको छ । यसअघि पीएनजी नेपालसँग २ खेलमा र मलेसियासँग १ खेलमा पराजित भएको थियो । मलेसियाले समेत ३ खेलमा १ जित हात पारेको छ ।

घरेलु टोली नेपाल भने ३ खेलमा ३ जित निकाल्दै १ खेल अगावै फाइनल पुगिसकेको छ । शनिबार नेपाल र मलेसियाविरुद्ध लिगको अन्तिम खेल हुनेछ ।

Facebook Comments Box