शेरबहादुर देउवाले पार्टी भित्र तथा बाहिर छलफललाई तीव्रता
काठमाडौँ, १४ फागुन – यही फागुन १६ भित्र अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउने योजनामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र तथा बाहिर छलफललाई तीव्रता दिएका छन्।
यसै क्रममा अहिले कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका शीर्ष नेताहरूसँग एमसीसीलाई कसरी टुंगो लगाउने भन्ने विषयमा बालुवाटारमा छलफल गरिहेका छन्।
जारी छलफलमा प्रधानमन्त्री देउवा, कांग्रेस उपभासभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी छन्। आन्तरिक छलफल सकेर एमालेसँग वार्ता गर्न आजै अध्यक्ष केपी शर्मा ओलीको घर बालकोट जाने तयारी छ।
यसअघि शुक्रबार राति मात्र बालकाेटमा प्रधानमन्त्री देउवासहित कांग्रेस र एमाले अध्यक्ष ओलीसहित एमालेका शीर्ष नेताबीच वार्ता भएकाे थियाे। तर सहमति भने हुन सकेन।
एमालेले उनैलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका माधव नेपालसहित १४ सांसदलाई आफ्नो निर्णयअनुसार बर्खास्त गरिनुपर्ने कि सभामुख अग्नि सापकोटा हटाइनुपर्ने सर्त राखेको छ।
मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँगको सम्झौता संसदबाट अनुमोदन गर्न अमेरिकाले नेपाललाई दिएको अल्टिमेटम अब जम्मा २ दिन बाँकी छ। अर्थात् वाचाअनुरूप नेपालले यही फागुन १६ भित्र एमसीसीको प्रस्ताव प्रतिनिधि सभाबाट पारित गराउनुपर्नेछ। अन्यथा आफूले नेपाल–नीतिमै पुनःविचार गर्ने चेतावनी अमेरिकाले दिएको छ।
त्यसैले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा केही दिनयता यसैमा सहमति जुटाउन दौडधुप गरिरहेका छन्। हरेक दिन उनले कहिले प्रमुख प्रतिपक्षी एमाले त कहिले सत्ता गठबन्धकै दलहरूसँग छलफल गरिरहेका छन्।
जसोतसो गत आइतबार प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबल गराउन सफल भएका प्रधानमन्त्री देउवा सरकारमै रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका विपक्षमा उभिने अडान लिएपछि अप्ठेरोमा परेका छन्।
यही कारण एमसीसीबारे सैद्धान्तिक छलफल गर्न भनेर बिहीबार र शुक्रबार दुवै दिनका लागि बोलाइएका संसद् बैठक लगातार स्थगन गर्नुपर्यो। तोकिएको समयसीमाअनुसार एमसीसी पासका लागि सहमति जुटाउन अब आज शनिबार र भाेलि आइतबार गरी २ दिन मात्रै समय छ। पर्सि साेमबार त फागुन १६ अर्थात् संसदबाट एमसीसी अनुमाेदनका लागि दिइएकाे अन्तिम समयसीमा।

