मन्त्रिपरिषद् बैठककाे निर्णय ६ सचिव सरुवा, दुई सचिवको दरबन्दी थप
काठमाडौं, २५ पुस – मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को गत बुधबार बसेको बैठकले सचिव सरुवाको निर्णय गरेपनि अहिलेसम्म उक्त सरुवा गोप्य राखिएको छ। सरकारले प्रदेश तहका तीन प्रमुख सचिवको समेत सरुवा गरेको छ।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयकी सचिव यमकुमारी खतिवडाको स्वास्थ मन्त्रालयको प्रशासन तर्फको सचिवमा सरुवा भएको छ।
यद्यपी उनको दरबन्दी प्रधानमन्त्री कार्यालय अन्तर्गत रहनेछ। हाल प्रदेश २ मा प्रमुख सचिव रहेका हरिप्रसाद मैनाली महिला मन्त्रालयको सचिवमा सरुवा भएका छन्।
हालै सचिवमा बढुवा भएका कृष्ण बहादुर राउतलाई मैनालीको ठाउँमा सरुवा गरिएको छ। बागमती प्रदेशमा प्रमुख सचिव रहेका किरण राज शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ। तत्कालीन सचिव वेगेन्द्र शर्माले सेवा अवधिका कारण अवकाश पाएपछि रक्षा मन्त्रालयमा सचिव रिक्त थियो।
राष्ट्रिय पुनर्निर्माणमा प्राधिकरणका सचिव सुशील तिवारीको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ। प्राधिकरण खारेज भएसँगै उनलाई लगानी बोर्डमा सचिवको रुपमा लैजाने तयारी थियो। तर लगानी बोर्डमा सचिवको दरबन्दी सिर्जना गर्ने पूर्व योजनाबाट सरकार पछि हटेको छ।
सतर्कता केन्द्रमा सचिव रहेका दिनेश घिमिरेको उर्जा आयोगमा सरुवा भएको छ। उता, स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फका सचिव रहेका खगेन्द्र नेपालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विशेष सचिवको दरबन्दी सिर्जना गरिएको छ।
मन्त्रिपरिषद् कार्यालयमा प्राविधिक सचिव दरबन्दी सिर्जना गरी यसअघि देखि नै त्यहाँ अतिरिक्तमा रहेका रमेश सिंहलाई पदस्थापन गरिएको छ।
शहरी विकास मन्त्रालयको सचिव रहँदा सचिव सिंह विवादमा परेका थिए। मन्त्री रामकुमारी झाँक्रीसँग सिंहको ठाकठुक समेत परेपछि उनको प्रधानमन्त्री कार्यालयमा अतिरिक्तमा सरुवा भएको थियो। सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा ल्याइएको छ।

