ललिता निवास प्रकरणका प्रमुख नाइके शोभाकान्त ढकाल राजस्व चुहावटमा पनि तानिए

बालुवाटारको सरकारी जग्गा प्रकरणका रुपमा परिचित ललिता निवासको सरकारी जग्गा खरिदबिक्रीका प्रमुख नाइके शोभाकान्त ढकाल राजस्व चुहावटमा पनि तानिएका छन्। उनीसहितका व्यक्तिहरुविरुद्ध राजस्व अनुसन्धान विभागले २ अर्ब ४० करोडको सजाय माग दाबी गरी अदालतमा मुद्दा दायर गरेको हो।

विभागले ढकालसहित सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ। उनीहरुविरुद्ध आज पाटन उच्च अदालतमा मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए।

उनले भने, ‘यस्तो कम कारोबार देखाई राजस्व चुहावट गर्ने यो प्रतिनिधि घटना हो। यस्तो अन्य पनि हुनसक्ने देखिएको छ। यो ठूलो रुपमा नै देखिएकोले अनुसन्धानको गहिराइमा पुगेर मुद्दा बुझाएका हौँ।’ ढकालसहितका प्रतिवादीहरुले अनुसन्धान इन्टरनेशनल प्रालिबाट राजस्व चुहावट गरेको विभागको भनाइ छ।

उनीहरुसहित राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झट्टा मूल्यअभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाई प्रचलित आयकर ऐन तथा मूल्यअभिवृद्धि कर ऐनअनुसारको कर नतिरेको देखिएको छ।

उनीहरुले मूल्यअभिवृद्धि करतर्फ ४२ करोड, आयकरतर्फ ६८ करोड र लाभांशतर्फ ९ करोड ७४ लाख रुपैयाँ अर्थात कुल १ अर्ब २० करोड रुपैयाँ राजस्व चुहावट गरेको विभागको भनाइ छ।

राजस्व छलीको रकमको दोब्बर सजाय मागदाबी हुने ऐनले व्यवस्था गरेअनुसार विभागले उनीहरुविरुद्ध २ अर्ब ४० करोड रुपैयाँ तिराउन माग गरेको छ। प्रतिवादी ढकाल अहिले सरकारी जग्गा व्यक्तिका नाममा लग्ने कार्यमा संलग्न रहेको भन्दै भ्रष्टाचारको मुद्दा खेपिरहेका छन्। उनी अहिले पनि थुनामै रहेका छन्।

Facebook Comments Box