साविक विजेता मछिन्द्र फुटबल क्लबको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत
काठमाडौं, ६ मङ्सिर – साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।
सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बलले दुई गोल गरे । एनआरटीका एरिक विष्टले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको छैटौं मिनेटमा एनआरटीका कृतिस रत्न छुन्जुको पेनाल्टी क्षेत्र भन्दा बाहिरबाटको प्रहारले पोस्टको दिशा लिन सकेन।
तर, १२ औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । विशाल राईको पासमा उनले गोल गरे । लगत्तै १३ औं मिनेटमा मछिन्द्रका विशाल राईले गोलको सुनौलो अवसर खेर फालेका थिए । एनआरटीका डिफेन्डरबाट बल खोस्दै अघि बढाएका विशालले गोलकिपरसँग वान भार्से वानमा गोल गर्न सकेनन् । पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
२२ औं मिनेटमा मछिन्द्रका अविशेक रिजालको गोलले मान्यता पाएन । सुनिल बलको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले पन्च गर्दै बाहिर पठाएका थिए । त्यहिँ बलमा कप्तान सुजल श्रेष्ठले प्रहार गरेको बललाई अविशेकले पोस्टको जाली चुमाएका थिए । खेलको २६ औं मिनेटमा एनआरटीका कृतिसले गोलको अवसर गुमाए । सिक्स यार्ड बक्सबाट गोलकिपर विशाल श्रेष्ठसँग वान भर्सेस वानको स्थितिमा उनले बाहिर प्रहार गरे ।
दोस्रो हाफमा एनआरटी खेलमा फर्कियो । ५४ औं मिनेटमा एरिक विष्टले फ्रिकिकबाट गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा फर्काए । मछिन्द्रका देबेन्द्र तामाङले स्टेफेन समिरलाई फउल गरेपछि एनआरटीले फ्रिकिक अवसर पाएको थियो । जसमा एरिकले ३० यार्ड क्षेत्रबाट फ्रिकिकमा सुन्दर गोल गरे ।
खेलको ८० औं मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-१ को जित दिलाए । उनले कप्तान सुजलको पासमा गोल गरे । जितसँगै मछिन्द्रले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । मछिन्द्र तालिकाको दोस्रो स्थानमा रहेको छ । एनआरटीले भने हारबाट लिगको सुरुआत गरेको छ । खेलको म्यान अफ दि म्याच मछिन्द्रका सुनिल बल चुनिए ।

