उपत्यकामा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

काठमाडौँ, ११ भदौ – काठमाडौं उपत्यकामा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ। कोरोनाविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाएका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ।

भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष माथि उमेर समूहका सबैलाई आजदेखि यसको दोस्रो मात्रा दिइने छ। विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकलाई पनि यो खोप दिइने छ।

सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रा लगाइने छ। खोप लगाउनको लागि काठमाडौंका सबै स्थानीय तहमा गरेर १ सय ४६ खोप केन्द्र तोकिएको छ।

त्यसबाहेक राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह थापाथली, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा पनि खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

Facebook Comments Box