मनाङेद्वारा विपक्षमा मत दिने घोषणा
गण्डकी, २७ जेठ – गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धनले बहुमत पुर्याउने देखिएको छ। मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले कित्ता परिवर्तन गरेपछि प्रदेश सभा विघटनबाट बच्ने सम्भावना बढेको हो।
आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै छन्। त्यसको पूर्वसन्ध्यामा गुरुङ नेतृत्वकै सरकारमा खेलकुदमन्त्री रहेका मनाङेले प्रदेश सभा विघटन हुन नदिन भन्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरेका हुन्।
विश्वासको मत लिनुअघि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा समेत उनी उपस्थित भएनन्। मन्त्री मनाङेले सरकारलाई समर्थन गरेका खण्डमा विपक्षीतर्फ पनि बहुमत नपुग्ने र प्रदेश सभा नै विघटन हुने सम्भावना थियो। किनकि संविधानको धारा १६८ उपधारा ३ अनुसार सरकारले विश्वासको मत (बहुमत) प्राप्त गर्न नसके उपधारा ५ आकृष्ट हुने र कतै पनि बहुमत नपुगे उपधारा ७ अनुसार प्रदेश सभा नै विघटन गरी चुनाव घोषणा गर्नुपर्ने हुन्छ। तर मन्त्री मनाङेले पक्ष परिवर्तन गरेसँगै अब विपक्षतर्फ बहुमत आउने र प्रदेश सभा बच्ने सम्भावना बढेको हो।