घरमा आएर पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्ने
काठमाडौँ, ६ जेठ – अब बिरामी वा व्यक्तिलाई कोभिड-१९ को पीसीआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पीसीआर परीक्षणको स्वाब संकलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो । जनस्वास्थ्य प्रयोगशालाले घरमै पीसीआर गर्न ‘घरमै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्बन्धी मापदण्ड-२०७८’ ल्याएको छ ।
कोही बिरामी वा कसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पीसीआर परीक्षणका लागि स्वाब दिनसक्ने व्यवस्था गरिएको हो ।
यसअघि पीसीआर परीक्षणका लागि प्रयोशगाला वा अस्पताल जानुपर्ने थियो । जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले मापदण्ड लागू गरेपछि अब कोही पनि व्यक्तिले पिसिआर परीक्षणका लागि घरमा नै स्वास्थ्यकर्मी बोलाउन सक्ने बताउनुभयो ।
उहाँले बिरामी भएको वा संक्रमण लक्षण देखिएका व्यक्तिलाई प्रयोगशालाबाट खट्ने स्वास्थ्यकर्मीले घरमै आएर पीसीआरका लागि नमूना संकलन गर्ने जनाउनुभएको छ । उहाँले यसरी घरमा नै बोलाएर पिसिआर गर्दा तोकिएको शुल्कमा अतिरिक्त पाँच सय रुपैयाँ लाग्ने बताउनुभएको छ । अहिले सरकारी प्रयोगशालामा कन्ट्याक्ट टे्रसिङमा परेकालाई निःशुल्क र आफूखुसी पीसीआर गराउनेलाई रु एक हजार तथा निजी प्रयोगशालाले दुई हजार लिने गरेका छन् । अहिले देशभरि सरकारी र निजी गरी ९० प्रयोगशालाले पीसीआर परीक्षण गर्ने अनुमति पाएका छन् ।

