पश्चिमी वायुको प्रभाव : चार प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा गण्डकी प्रदेशका यस्ता भूभागका थोरै स्थानमा चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै, सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ । सोमबार कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

Facebook Comments Box