इरानमाथि फेरि आक्रमण गर्न ट्रम्पलाई मनाउँदै नेतन्याहु
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथि पुनः आक्रमण गर्न अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मनाउने प्रयास गरिरहेका छन् । अमेरिकी सञ्चारमाध्यम एक्सियोस र इजरायलको जेरुसेलम पोस्टका अनुसार नेतन्याहुले यसै उद्देश्यका लागि इजरायली गुप्तचर संस्था मोसादका प्रमुख रोमन गोफम्यानलाई अमेरिका पठाएका छन् ।
शुक्रबार वासिङ्टन पुगेका गोफम्यानले अमेरिकी गुप्तचर संस्था सीआईएका प्रमुख जोन रेटक्लिफसँग भेट गर्ने कार्यक्रम छ । त्यसपछि उनले ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग भेटवार्ता गर्न मियामी जाने बताइएको छ । फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार नेतन्याहुले पछिल्ला केही दिनदेखि ट्रम्पलाई दैनिक फोन गरेर इरानमाथि आक्रमण गर्ने विषयमा छलफल गरिरहेका छन् । दुई नेताबीच नोभेम्बर ५ मा पनि यस विषयमा कुराकानी भएको थियो ।
तर, ट्रम्प तत्काल इरानमाथि ठूलो सैन्य आक्रमण गर्ने पक्षमा नरहेको बताइएको छ । अमेरिकाले सैन्य कारबाहीको सट्टा इरानमाथि आर्थिक दबाब बढाउने रणनीति अघि सारेको छ । त्यसका लागि समुद्री नाकाबन्दी जारी राख्दै इरानको आम्दानी र व्यापारमा असर पुर्याउने अमेरिकी योजना रहेको छ ।
यस रणनीतिमा साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स, कुवेत र बहराइनजस्ता खाडी मुलुकले पनि अमेरिकालाई सहयोग गरिरहेका छन् । राष्ट्रपति ट्रम्पका अनुसार साउदी अरेबियाले केही समयका लागि अहिलेको अवस्था कायम राख्न अमेरिकालाई आग्रह गरेको छ । इरान कमजोर हुँदै गइरहेको मूल्याङ्कन गर्दै खाडी मुलुकहरूले पनि अमेरिकाले तत्काल हतारमा कुनै सैन्य कदम नचालोस् भन्ने चाहेको बताइएको छ ।

