जङ्गली हात्ती नियन्त्रण गर्न नयाँ तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

झापा । जङ्गली हात्तीबाट हुने जनधनको क्षति रोक्न झापाको मेचीनगरका स्थानीयले नयाँ सौर्य विद्युतीय तारबार जडान गर्न र हात्ती धपाउन ट्याक्टरको प्रयोग बढाउन माग गरेका छन् । शुक्रबार मेचीनगर–४ बाहुनडाँगी पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखहरूको टोलीसमक्ष स्थानीयले यस्तो माग राखेका हुन् ।

स्थानीयका अनुसार एक दशकअघि जडान गरिएको विद्युतीय तारबार जीर्ण भइसकेको छ । भारतबाट दैनिक करिब एक सयको सङ्ख्यामा आउने हात्तीको बथानले झापा, मोरङ र सुनसरीसम्म जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएको छ । धानबाली भित्र्याउने समयमा हात्तीको आवागमन बढ्ने भएकाले प्रत्येक प्रवेश नाकामा कम्तीमा दुईवटा ट्याक्टर परिचालन गर्नुपर्ने स्थानीयको सुझाव छ । ट्याक्टरको आवाजले हात्ती तर्सिने भएकाले खेतबारीबाट हात्ती धपाउन पनि सहज हुने उनीहरूको भनाइ छ ।

स्थानीयको माग सुनेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावित बासिन्दा र सरोकारवाला निकायबीच समन्वय गरेर नयाँ कार्ययोजना बनाइने बताउनुभएको छ । उहाँले सीमा क्षेत्रमा हात्ती रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोली परिचालन गरिएको जानकारीसमेत दिनुभयो ।

Facebook Comments Box