मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

काठमाडौँ । रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका पूर्वसल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन् । रुसको अनुसन्धान समितिका अनुसार विस्फोटका बेला जाभोरोत्नी आफैँ कार चलाइरहेका थिए । घटनापछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

जाभोरोत्नी सन् २०१४ मा तत्कालीन प्रधानमन्त्री अजारोभले पदबाट राजीनामा दिनुअघि उनका सल्लाहकारका रूपमा कार्यरत थिए । त्यसपछि उनी युक्रेन छाडेर रुस गएका थिए । मस्कोमा भएको यो विस्फोट सेन्ट पिटर्सबर्गमा यस्तै प्रकृतिको कार बम विस्फोटमा एक रुसी कर्णेलको मृत्यु भएको एक दिनपछि भएको हो ।

युक्रेन युद्ध अन्त्य गर्ने विषयमा डब्लिनमा शान्ति वार्ता भइरहेका बेला यो घटना भएको हो । यद्यपि, रुस र युक्रेनबीच रातभर आक्रमण जारी रहेको बताइएको छ । रुसको अनुसन्धान समितिले घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै चिकित्सा तथा विस्फोटक पदार्थसम्बन्धी परीक्षण गरिने जनाएको छ ।

रुसी सञ्चारमाध्यमका केही विवरणअनुसार विस्फोटमा जाभोरोत्नीको देब्रे हात काटिएको छ भने टाउको, करङ र दाहिने खुट्टामा समेत गम्भीर चोट लागेको छ । रुसले पछिल्लो घटनालाई क्रेमलिन समर्थक व्यक्तिहरूलाई लक्षित गरी भइरहेका कार बम आक्रमणको श्रृंखलासँग जोडेर हेरेको छ ।

Facebook Comments Box