लिगलिगे दौडका अवसरमा पालुङटार नगरपालिकामा आज सार्वजनिक बिदा

गोरखा । ऐतिहासिक लिगलिगे दौड आयोजना हुने भएकाले गोरखाको पालुङटार नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। नगरपालिकाको असोज २० गते बसेको कार्यपालिका बैठकले दौड हुने दिन असोज २९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

नगरपालिकाका अनुसार आज नगरपालिका क्षेत्रभित्रका सबै वडा कार्यालय, शैक्षिक संस्था लगायतमा बिदा हुनेछ। नगरपालिकाले ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको लिगलिगे दौडमा सहभागी हुन सबै सङ्घसंस्था, खेलाडी तथा सरोकारवालालाई आह्वान गरेको छ। लिगलिगे दौड गोरखाको लिगलिगकोटमा प्रचलित राजा छनोट गर्ने ऐतिहासिक परम्परासँग जोडिएको छ। जनश्रुतिअनुसार, दौडमा सबैभन्दा पहिले निर्धारित गन्तव्यमा पुग्ने व्यक्ति राजा बन्ने परम्परा थियो।

यही परम्परासँग जोडिएर द्रव्य शाहले विक्रम संवत् १६१६ अर्थात् सन् १५५९ मा लिगलिगकोटमा आफ्नो सत्ता स्थापित गरेको इतिहासमा उल्लेख छ। पछि उनले गोरखा राज्यको स्थापना गरेका थिए। हाल लिगलिगे दौड ऐतिहासिक परम्पराको संरक्षण, स्थानीय पहिचानको प्रवर्द्धन र खेल पर्यटनको विकास गर्ने उद्देश्यले आयोजना गरिँदै आएको छ।

Facebook Comments Box