काठमाडौं उपत्यकामा ६५८ सवारी चालक कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ सय ५८ जना सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ४७ जना र तीव्र गतिमा सवारी हाँक्ने ६६ जना चालक कारबाहीमा परेका हुन्।

यस्तै, सवारीको यान्त्रिक अवस्था ठीक नभएका ३१ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २३ जना र सीसीटीभी निगरानीका आधारमा पहिचान भएका २३ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने नौ जना, अनावश्यक रूपमा हर्न बजाउने आठ जना र एकतर्फी सडकको नियम उल्लङ्घन गर्ने दुई जना चालक पनि कारबाहीमा परेका छन्।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चार सय ४९ जना चालकलाई समेत कारबाही गरिएको छ। सडक अनुशासन कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका विभिन्न स्थानमा निगरानी तथा जाँचलाई तीव्रता दिइएको ट्राफिक प्रहरीले जनाएको छ।

Facebook Comments Box